
गाजा पट्टीमा इजरायल र प्यालेस्टिनीबीच भइरहेको हिंसात्मक द्वन्द्व झनै जटिल बन्दै गएको छ।
इजरायली सेनाले गाजाको ६५ प्रतिशतभन्दा बढी भू–भागमा आफ्नो नियन्त्रण कायम राखेको दाबी गरेको छ।
शुक्रबार सार्वजनिक गरेको एक विज्ञप्तिमा इजरायली रक्षा बलले गाजाको उत्तर, दक्षिण र पूर्वी भागहरू मुख्य रूपमा आफ्नो नियन्त्रणमा रहेको जनाएको छ।
इजरायलको लोकप्रिय च्यानल १२ समाचारका अनुसार, गत मार्चमा इजरायली सेनाले गाजामा पुनः आक्रमण सुरु गर्दा, ७५ प्रतिशत भूभाग कब्जा गर्ने लक्ष्य राखेको थियो।
तर हालसम्म ६५ प्रतिशत क्षेत्रमा मात्र नियन्त्रण कायम गर्न सफल भएको बताइएको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, २०२३ अक्टोबरदेखि जारी इजरायली आक्रमणमा हालसम्म ५७ हजार १ सय ३० प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन्।
यस्तै, झण्डै १ लाख ३५ हजारभन्दा बढी घाइते भएको तथ्यांक छ।
स्थिति अझै पनि तनावपूर्ण बनेको देखिन्छ।