
उपभोक्ता अदालतको क्षतिपूर्ति सम्बन्धी फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ। संघको आह्वानमा सोमबार (असार २३ गते) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको छ।
उपभोक्ता अदालतले तीनवटा अस्पताल र चिकित्सकहरूलाई उपचारमा लापरबाही गरेको भन्दै ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको थियो।
अदालतले गत असार महिनामा महिलाले उपचारमा लापरबाही भएको भनी दायर गरेको उजुरीमा ललितपुरस्थित ग्रान्डी सिटी अस्पताल र त्यसमा संलग्न चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
त्यस्तै, काठमाडौंको चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ र त्यहाँका चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ तिर्न आदेश दिएको थियो।
अर्को मुद्दामा, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। यसमध्ये अस्पतालले ७० प्रतिशत र चिकित्सकले ३० प्रतिशत तिर्नुपर्ने फैसला भएको हो।
यी फैसलाविरुद्ध चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। संघले सोमबार आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। साथै, मंगलबार (असार २४ गते) देशभरका चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलमा आफ्नो प्रमाणपत्र बुझाउने घोषणा गरेको छ।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसला चिकित्सकहरूविरुद्ध अन्यायपूर्ण भएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएको छ। संघका अनुसार यस फैसलाले चिकित्सकीय पेशामा नकारात्मक प्रभाव पार्ने खतरा छ।