Join our Channel

भोजपुर हत्या घटना: चारैजनाको शव पोस्टमार्टमका लागि पठाइयो

भोजपुर हत्या घटना: चारैजनाको शव पोस्टमार्टमका लागि पठाइयो

भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ मा शनिबार राति हत्या गरिएका एकै परिवारका चार सदस्यको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।

शवहरु प्राविधिक कारणले भोजपुर अस्पतालमा पोस्टमार्टम सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन्। उनका अनुसार, सोमबार पोस्टमार्टम गरिनेछ।

घटनास्थल सदरमुकाम भोजपुरबाट करिब ३२ किलोमिटर टाढा पर्छ। घटनामा संलग्न भनिएका राजेन्द्र राईलाई घाइते अवस्थामा भेटिएको छ। अहिले उनको उपचार पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

प्रहरीका अनुसार, राजेन्द्रले ससुरा ६८ वर्षीय बेलबहादुर गिरि, सासू ४५ वर्षीया मञ्जु, श्रीमती १६ वर्षीया मनिषा र ९ वर्षीय सालो सपनको हत्या धारिलो हतियार प्रयोग गरी गरेका हुन्।

हत्या गरेपछि राजेन्द्रले आफैं प्रहरीलाई फोन गरेर घटना जानकारी गराएका थिए।
उनले प्रारम्भिक बयानमा भनेका छन्, ‘सासूले छुरा देखाएर आक्रमण गरेपछि छुरा खोसेर आफैंले सबैलाई प्रहार गरेको हुँ।’

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a comment