Join our Channel

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर मनसुनी वायु सक्रिय भएपछि आगामी केही दिन मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । विशेषगरी पहाडी भूभागसहित बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात समेत हुन सक्ने सम्भावना रहेको छ ।

आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित अन्य केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ । उच्च हिमाली क्षेत्रमा भने हिमपातको जोखिम समेत रहेको छ ।

महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार, पहिरोसम्भावित क्षेत्र तथा जोखिमयुक्त भूभागमा सचेत रहनसमेत आग्रह गरेको छ ।

Leave a comment