
लगातार ६ कारोबार दिनसम्म उकालो लागेको सेयर बजार (नेप्से) मा सोमबार ब्रेक लागेको छ । सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २ हजार ६८४ दशमलव ०१ विन्दुमा ओर्लिएको छ ।
असार १५ यता निरन्तर उकालो लागेको नेप्से सोमबार घटेको हो । यसअघि वैशाख ७ मा नेप्से ७०६.०४ विन्दुमा पुगेको थियो भने असार ८ मा २५९५.९७ विन्दुमा झरेको थियो । असार १९ र २२ मा २७ सय विन्दु पार गरेको नेप्से फेरि २६ सय विन्दुमा झरेको छ ।
सोमबार ३९ कम्पनीका सेयर मूल्य बढेका छन् भने २०९ कम्पनीका सेयर घटेका छन् । कुल ७१ हजार ३१३ पटकको सेयर कारोबारबाट ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेर ९ अर्ब ५० करोडबाट झरेको हो ।
सोमबार होटल तथा पर्यटन र सामूहिक लगानी कोष उपसमूह मात्रै हरियाली देखिए । होटल तथा पर्यटन उपसमूह ४१.८० अंकले उकालो लागेको छ । बाँकी सबै उपसमूहहरू घटेका छन् । फाइनान्स ३.७६, व्यापार १.२५ र उत्पादन तथा प्रशोधन १.२४ प्रतिशतले घटेका छन् ।
माथिल्लो मैलुङखोला (६.५६%), कर्पोरेट विकास बैंक (६.२८%), भगवती हाइड्रोपावर (४.०६%), सिन्धु विकास बैंक (३.७४%) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (३.५९%) का सेयर मूल्य वृद्धि भएका छन् ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य १०% ले घटेर सर्किट ब्रेक लागेको छ । अन्य घट्ने प्रमुख कम्पनीमा गुडविल फाइनान्स डिबेन्चर (९.६६%), ग्रिन डेभलपमेन्ट बैंक (९.४९%), नेपाल फाइनान्स (५.३९%) र समृद्धि फाइनान्स (४.५९%) रहेका छन् ।
कारोबार रकमका हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । कम्पनीको सेयर कारोबार ८० करोड ७० लाख रुपैयाँ बराबर पुगेको छ । त्यसपछि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (४१ करोड ७१ लाख), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट (२४ करोड १७ लाख), साहस ऊर्जा (२० करोड ४५ लाख) र ङादी ग्रुप पावर (१९ करोड ९३ लाख) रहेका छन् ।
सर्वाधिक सेयर संख्यामा प्रभु सेलेक्ट फन्ड अग्रणी रह्यो । यसको २१ लाख १९ हजार ८१७ कित्ता सेयर किनबेच भएको हो ।
सोमबार नेप्से घटेपछि कुल बजार पुँजीकरणमा पनि ठूलो गिरावट देखिएको छ । एकै दिन ३७ अर्ब २४ करोड ५२ लाख रुपैयाँले बजार पुँजीकरण घटेर ४५ खर्ब ९ अर्ब १९ करोडबाट ४४ खर्ब ७१ अर्ब ९४ करोड रुपैयाँमा झरेको हो ।
बजार पुँजीकरण घट्नु भनेको सूचीकृत कम्पनीहरूको बजार मूल्य घट्नु हो, जसले लगानीकर्ताको सम्पत्ति घटेको देखाउँछ ।