Join our Channel

नेपाल–भारत सीमामा भारतीय वनकर्मीको एकपक्षीय खाडल निर्माण, स्थानीय आक्रोशित

नेपाल–भारत सीमामा भारतीय वनकर्मीको एकपक्षीय खाडल निर्माण, स्थानीय आक्रोशित

नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय वन विभागले एकपक्षीय रूपमा खाडल (नाला) खनिरहेको छ। बर्दियाको करिब १५ किलोमिटर सिमाना क्षेत्रमा दुई साता अघि देखि स्काइभेटर प्रयोग गरी भारतीय पक्षले गहिरो खाडल निर्माण गरिरहेको हो।

गुलरिया नगरपालिका–८, सुरजपुरस्थित दशगजाको छेउमा सशस्त्र प्रहरी बलले विरोध गरे पनि भारतीय वनकर्मीले जबरजस्ती खाडल खन्दा विवाद उत्पन्न भएको छ। भारतीय पक्षले “आफ्नै भूमिमा खाडल खन्न पाइँदैन र?” भन्दै तर्क गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

स्थानीय बासिन्दाका अनुसार, सशस्त्र द्वन्द्वको समयमा नेपाली सुरक्षा फौजको अनुपस्थितिको फाइदा उठाएर भारतले एकपक्षीय खाडल खन्न थालेको थियो। वर्षायाममा पानीको निकास नहुँदा नेपाली भू-भाग डुबानमा पर्ने खतरा पनि स्थानीयले औंल्याएका छन्।

फुटाहा, बढैयाताल गाउँपालिका–२ का रणबहादुर खत्री भन्छन्, “वन्यजन्तुबाट जोगिन लगाइएको तारबार पनि उखेलेर फालिन्छ, अब खाडल खन्ने कार्यले त अझै समस्या बढाउँछ।” उनले दशगजासँगैको भारतीय भूमिमा खाडल खन्दा पानीको बहाव नेपालतर्फ आउँदा डुबानको सम्भावना रहेको बताए।

यता भारतीय वन अधिकारीले भने काठ तस्करी रोक्न र वन्यजन्तु नियन्त्रणका लागि खाडल खनिएको दाबी गरेका छन्। उनीहरूका अनुसार, उक्त खाडल भारतकै कतरनियाघाट वन्यजन्तु आरक्ष क्षेत्रमा पर्दछ र सिमानाको स्पष्ट नक्सा संयुक्त नापी टोलीबाट नभइसकेको स्थानमा निर्माण गरिएको हो।

बर्दियाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले GPS प्रविधिबाट सिमाना नापजोख गरेपछि मात्र सीमारेखा स्पष्ट भइने भएकाले भूमिमा अतिक्रमण गर्न नपाइने जानकारी दिए।

त्यस्तै, सशस्त्र प्रहरी बल ३१ नम्बर गणका उपरीक्षक मानबहादुर शाहीका अनुसार, सशस्त्र प्रहरीको स्थापनापछि सिमाना मिच्ने कार्य धेरै हदसम्म रोकिएको छ। उनी भन्छन्, “१७ वर्षदेखि नियमित गस्ती र सुरक्षाका कारण अवाञ्छित गतिविधि नियन्त्रणमा छ।”

Leave a comment