Join our Channel

नेपाल-भारत व्यापारमा नयाँ साझेदारी: निक्की र फिक्कीबीच ऐतिहासिक सम्झौता

नेपाल-भारत व्यापारमा नयाँ साझेदारी: निक्की र फिक्कीबीच ऐतिहासिक सम्झौता

नेपाल र भारतबीच आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) बीच महत्वपूर्ण समझदारी भएको छ।

नयाँदिल्लीमा आयोजित कार्यक्रममा निक्कीका अध्यक्ष सुनील केसी र फिक्कीकी महाप्रबन्धक ज्योति बिजले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यो समझदारीले दुई देशबीचको आपसी व्यापार, लगानी, र सीमापार सहकार्यलाई थप संस्थागत बनाउने लक्ष्य लिएको छ।

समझदारीअनुसार अब दुवै संस्था व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम आयोजना, गैरगोप्य जानकारीको साझेदारी र संयुक्त बजार अध्ययनमा सहकार्य गर्नेछन्।

निक्कीले नेपालका लागि फिक्कीको विशेष साझेदारको भूमिका निभाउनेछ भने फिक्कीले भारतका लागि निक्कीलाई विशेष साझेदारको रूपमा मान्यता दिनेछ। साथै, दुवै पक्षले व्यापार तथा लगानीसम्बन्धी तथ्यांक र अध्ययन प्रतिवेदन पनि नियमित रूपमा साटासाट गर्नेछन्।

निक्कीका अध्यक्ष केसीले भने, “हामी प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्त कार्यक्रम सञ्चालन गर्नेछौं। बजार अध्ययन, आर्थिक विकासका नयाँ क्षेत्र पहिचान, र संयुक्त अध्ययनमा समेत सहकार्य हुनेछ।”

फिक्कीकी महानिर्देशक बिजले पनि आर्थिक सम्बन्धलाई सुदृढ बनाउने जिम्मेवारी दुवै संस्थाको रहेको बताउँदै भारत र नेपालको आर्थिक साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

फिक्कीमा हाल सार्वजनिक तथा निजी क्षेत्रका २ लाख ५० हजारभन्दा बढी कम्पनी आबद्ध छन्। यो संस्था भारतको नीति निर्माणदेखि आर्थिक वृद्धि र लगानी प्रवर्द्धनसम्मका क्षेत्रमा अग्रसर रहँदै आएको छ।

समझदारीले दुई देशबीचको लामो समयदेखिको आर्थिक अन्तरनिर्भरतालाई औपचारिकता दिएको छ। दुवै पक्षले सीमापार व्यापारका चुनौती समाधान गर्न र नयाँ सम्भावनाहरूको खोजीमा मिलेर काम गर्ने जनाएका छन्।

सम्झौताअनुसार अब दुवै संस्था नेपाल र भारतका अतिरिक्त बीबीआईएन (BBIN) तथा बिमस्टेक (BIMSTEC) देशहरूसँग पनि सहकार्य गर्ने छन्। “हामी अब ट्र्याक १.५ संवाद प्रारम्भ गर्दैछौं जसमा दुवै देशका सरकारी प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ,” केसीले जानकारी दिए।

Leave a comment