Join our Channel

एलन मस्कले ट्रम्पको ‘डेस्ट्रक्टिभ’ विधेयकको कडा आलोचना गरे

एलन मस्कले ट्रम्पको 'डेस्ट्रक्टिभ' विधेयकको कडा आलोचना गरे
Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ए बिग ब्युटिफुल बिल’ नाम दिएका नयाँ घरेलु नीति विधेयकलाई एलन मस्कले पुनः आलोचना गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल एक्समार्फत मस्कले उक्त विधेयकलाई ‘पूर्ण रूपमा पागल र विनाशकारी’ भनेका हुन्।

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी मस्कले ट्रम्पको रिपब्लिकन पार्टीले सिनेटमार्फत पारित गर्न खोजिरहेको ९४० पृष्ठको विधेयकलाई गम्भीर रूपमा आलोचना गर्दै यसले लाखौं अमेरिकीको रोजगारी गुमाउने र देशलाई रणनीतिक रूपमा कमजोर बनाउने चेतावनी दिएका छन्।

विधेयकमा कर कटौती, औषधि उपचार कोषमा कटौती, पोषण सहायता कम गर्ने, सेना र आप्रवासन नीति कार्यान्वयनमा खर्च बढाउने प्रावधानहरू रहेका छन्। यद्यपि ग्रामीण क्षेत्रका अस्पताललाई मद्दत गर्न केही उपायहरू समावेश गरिएको बताइएको छ।

मस्क र ट्रम्पबीच केही समयदेखि चल्दै आएको ‘वाक्युद्ध’ फेरि चर्किएको छ। पहिले शान्त देखिएका मस्क शनिबार उक्त विधेयक सिनेटमा प्रस्तुत गरिएपछि पुनः टिप्पणी गर्न अघि सरेका हुन्।

मस्कले ट्रम्पको संघीय सरकार खर्च कटौती योजना ‘डज’ माथि पनि विधेयकले प्रतिकूल असर पार्ने दाबी गरेका छन्। उनले यस विधेयकले अमेरिका ‘टाट पल्टाउने’ खतरा रहेको भन्दै ‘घृणित’ शब्द प्रयोग गरेका छन्।

ट्रम्पसँगको पहिलाको विवादमा मस्कले एपस्टाइन प्रकरणमा ट्रम्पको नाम जोडेका थिए भने ट्रम्पले मस्कको व्यवहारलाई ‘ड्रग्स’सँग सम्बन्धित भन्दै आलोचना गरेका थिए। पछिल्लो समय शान्त देखिए पनि मस्कले शनिबार पुनः खुलेर बोल्दै विधेयकको आलोचना गरेका हुन्।

Leave a comment