Join our Channel

नेपाल इरानसँग पराजित, इरानले जित्यो त्रिदेशीय फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि

नेपाल इरानसँग पराजित, इरानले जित्यो त्रिदेशीय फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि

भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न त्रिदेशीय फिफा मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० ले पराजित भएको छ।

यो जितसँगै इरानले लगातार दुई खेलमा विजय हात पार्दै प्रतियोगिताको उपाधि जितेको छ।

खेलको सुरुवातमा नेपालले पायो मौका

खेलको ११औं मिनेटमा प्रीति राईले फ्री किक मार्फत राम्रो अवसर सिर्जना गरेकी थिइन् तर कप्तान सावित्रा भण्डारीले बल नियन्त्रणमा लिन नसक्दा गोल हुन सकेन।
३१औं मिनेटमा सविता राना मगर र रेखा पौडेलबीचको संयोजनबाट अर्को सुनौलो अवसर पनि गुम्यो।

दोस्रो हाफमा लगातार तीन गोल

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमै इरानले खेलको पासो पल्टायो।

  • ४९औं मिनेटमा सारा ले पहिलो गोल गरिन्।
  • ५२औं मिनेटमा कप्तान जेहरा गाबारी ले फ्रीकिकमार्फत दोस्रो गोल थपिन्।
  • ५७औं मिनेटमा सबनाम ले तेस्रो गोल गर्दै नेपालको पराजय सुनिश्चित गरिन्।

नेपालले खेलमा केही आक्रमणका प्रयास गरे पनि इरानको बलियो रक्षा पंक्तिले त्यसलाई असफल बनायो।

प्रशिक्षक न्यौपानेको रणनीतिक परिवर्तन

दोस्रो हाफपछि प्रशिक्षक नविन न्यौपानेले टोलीमा परिवर्तन गर्दै

  • अञ्जना राना मगर (गोलकिपर),
  • रश्मी घिसिङ, अनिता बस्नेत, दिपा शाही र मनमाया दमाईलाई मैदानमा उतारेका थिए।

तर, इरानको डिफेन्सलाई भेद्न नेपाल सफल हुन सकेन।

फिफा वरीयता र आगामी खेल

फिफा वरीयतामा इरान ७०औं र नेपाल ८९औं स्थानमा छन्।
६ वर्षअघि २०१९ मा दुबै टिमबीच भएको खेलमा नेपाल ३–० ले विजयी भएको थियो — तर यो पटक नतिजा उल्टो रह्यो।

इरानले यसअघि भारतलाई २–० ले हराइसकेको थियो।
नेपालले अब आफ्नो दोस्रो खेल कार्तिक १० गते आयोजक भारतसँग खेल्नेछ।

Leave a comment