Join our Channel

पुरी रथयात्रामा ठुलो दुर्घटना, ३ भक्तजनको मृत्यु, ५० भन्दा बढी घाइते

पुरी रथयात्रामा ठुलो दुर्घटना, ३ भक्तजनको मृत्यु, ५० भन्दा बढी घाइते

भारतको ओडिशा राज्यस्थित पुरीमा आयोजना गरिएको प्रसिद्ध जगन्नाथ रथयात्राका क्रममा आइतबार बिहान भीडभाडका कारण भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी श्रद्धालु घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटना बिहान करिब ४ बजे गुण्डिचा मन्दिर नजिकै भगवान् जगन्नाथको नन्दीघोष रथ अगाडि भएको हो। प्रहरीका अनुसार भीड अत्यधिक बढेका कारण भागदौड सुरु भएको थियो। भीडभाडकै बीच केही मानिस भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएका थिए।

मृतकहरूमा बसन्ती साहु (३६), प्रेम कान्ति मोहन्ती (७८), र प्रभात दास रहेका छन्। तीनै जनाको शव पुरी मेडिकल कलेजमा राखिएको छ।

स्थानीय अधिकारी र प्रहरी प्रशासनले घटनास्थलमा पर्याप्त सुरक्षा व्यवस्था नभएको कुरा पनि स्विकार गरेका छन्। भगवान् बलभद्र र सुभद्राका रथहरू पहिले नै अन्तिम गन्तव्यमा पुगिसकेका थिए भने भगवान् जगन्नाथको रथ आइतबार बिहान गुण्डिचा मन्दिर पुर्याइएको थियो।

शुक्रबार पनि सयौं भक्तजन बिरामी

यसअघि शुक्रबार (२७ जुन) देवी सुभद्राको रथयात्राको बेला भीड नियन्त्रणबाहिर जाँदा ६२५ भन्दा बढी भक्तजन बिरामी परेका थिए। तीमध्ये ७० जनालाई अस्पताल भर्ना गरिएको थियो र ९ जनाको अवस्था गम्भीर थियो।

शुक्रवारदेखि रथयात्रा सुरु

यस वर्षको रथयात्रा शुक्रबार (२७ जुन) दिउँसो ४ बजे सुरु भएको थियो। पहिलो दिन बलभद्रको रथ २०० मिटर तानिएको थियो। शनिबार बिहानदेखि पुनः यात्रा सुरु भई भगवान् जगन्नाथको नन्दीघोष रथ आइतबार दिउँसो १:११ बजे गुण्डिचा मन्दिर पुगेर यात्रा सम्पन्न भएको थियो।

Leave a comment