
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा गम्भीर विचलन आएको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र सिद्धान्त, राजनीति, व्यवहार र संस्कृति सबै क्षेत्रमा विचलन देखिएको टिप्पणी गरे।
अध्यक्ष दाहालले सुरुमा कम्युनिस्ट पार्टीको स्थापना त्याग, तपस्या र जनताको सेवाको आदर्शमा आधारित भएर गरिएको भए पनि आजभोलि व्यक्तिगत स्वार्थ र पदकै लागि होडबाजी ( तँछाडमछाड ) भएको आरोप लगाए।
उनले भने, “आजभोलि पार्टीमा धेरै किसिमका विचलनहरू देखिन्छन्। जुन समर्पणका साथ हामीले आन्दोलन अघि बढाएका थियौं, आज त्यो भावना हराउँदै गएको छ। सबै जना पद, प्रतिष्ठा र स्वार्थको पछि लागेको देखिन्छ।”
दाहालले पछिल्लो केन्द्रीय समिति बैठकमा यस्ता विचलनहरू झनै तीव्र भएको बताए। विचार, वर्ग संघर्ष र जनसमूहप्रति जिम्मेवारी लिने भावनामा कमी आएको उनले स्पष्ट पारे।
उनको भनाइअनुसार, यस्तो अवस्था निरन्तर रहिरहेमा कम्युनिस्ट आन्दोलनले देखेको सपना पुरा हुन सक्ने छैन।