Join our Channel

स्पेनमा प्रधानमन्त्री ओलीको व्यस्त तालिका: विश्व सम्मेलन, द्विपक्षीय भेट र नेपाली समुदायसँग संवाद

स्पेनमा प्रधानमन्त्री ओलीको व्यस्त तालिका: विश्व सम्मेलन, द्विपक्षीय भेट र नेपाली समुदायसँग संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (असार १४) स्पेन भ्रमणका लागि प्रस्थान गर्दै छन्। संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ (Finance for Development) विषयमा सेभिया सहरमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जाँदै छन्।

प्रधानमन्त्रीले संघीय संसद्को बैठकमा स्पेन भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेका छन्। आज साँझ ६ बजे कतार एयरवेजमार्फत दोहा हुँदै म्याड्रिड पुग्नेछन्। प्रधानमन्त्रीको टोलीमा २१ जना रहनेछन्, जसमा नेपालका सम्बन्धित सचिव, मुख्य सल्लाहकार, स्वकीय सचिव र विदेशस्थित नेपाली कूटनीतिज्ञहरु समावेश छन्।

प्रधानमन्त्री भोलिपल्ट असार १५ गते सेभिया पुग्नेछन्। त्यहाँ उनले सम्मेलनको प्लेनरी समापन सत्रलाई सम्बोधन गर्नेछन्। त्यही दिन साँझ स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग द्विपक्षीय वार्ता हुने छ, जसपछि स्पेनका नरेशले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने तालिका रहेको छ।

असार १६ गते उनले सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाउने छन् भने गेट्स फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्ने छन्। त्यसपछि स्तोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रो र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग छुट्टाछुट्टै भेटवार्ता हुनेछन्।

असार १७ गते प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नेछन्। त्यस दिन ‘सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था’ सम्बन्धी साइड–इभेन्टलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। साथै, नेपाल–बुरुण्डी सहआयोजनामा हुने पानी तथा सरसफाइ सम्बन्धी वित्तीय स्रोत प्रवाहसम्बन्धी छलफलमा भाग लिनेछन्।

असार १८ गते म्याड्रिड फर्किएपछि नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्धन कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन, असार १९ गते, रियल म्याड्रिड फुटबल क्लबका प्रतिनिधिसँग भेटघाटपछि स्पेनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया हुनेछ। त्यसपछि राति १०:४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको टोली असार २० गते स्वदेश फर्कने तालिका छ।

Leave a comment