
मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीहरूले व्यक्तिगत उपाधिमा पूर्ण कब्जा जमाएका छन्।
मलेसियाको युकेएम वाइएसटी ओभल मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले हराउँदै उपाधि जितेको हो।
फाइनल खेलमा नेपालका अभय यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २९ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई उपाधि दिलाए। साथै, अभयले ३ विकेट पनि लिए।
प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ (Player of the Tournament) रौनक श्रीवास्तव घोषित भए। उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाएका थिए।
रौनकले इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका थिए भने भुटानसँगको खेलमा १६८ रन बनाउँदै कुनै पनि नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च व्यक्तिगत स्कोरको कीर्तिमानसमेत राखे।
सर्वोत्कृष्ट ब्याटरको उपाधि पनि रौनकले नै हात पारे।
उता, नेपालका कप्तान विपिन प्रसाद शर्मा प्रतियोगिताका उत्कृष्ट बलर घोषित भए। उनले ६ खेलमा १७ विकेट लिँदै बलिङतर्फ उत्कृष्टता देखाए।
नेपालका अन्य खेलाडीहरूको समेत प्रतियोगितामा उल्लेखनीय प्रदर्शन रह्यो।