Join our Channel

राष्ट्र बैंकको कारबाहीमा दुई बैंक र दुई फाइनान्स कम्पनी

राष्ट्र बैंकको कारबाहीमा दुई बैंक र दुई फाइनान्स कम्पनी

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा चार बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको छ। कारबाहीमा परेका संस्था हुन्: सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी।

सिटिजन्स बैंकमाथि किन कारबाही?

राष्ट्र बैंकको निर्देशनविपरीत प्रमुख कार्यकारी अधिकृत (CEO) को करार सम्झौता संशोधन गरेर सुविधा बढाइएको, आन्तरिक लेखा परीक्षकबाट कर्जा प्रयोगबारे आवश्यक अध्ययन नगरिएको, ब्याजदर गलत तरिकाले गणना गरिएको, पुरानो कर्जा चुक्ता गर्न नयाँ कर्जा दिइएको, तथा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै बैंकका सञ्चालक समिति र CEO लाई सचेत गराइएको हो।

एनआईसी एशिया बैंकको गल्ती के?

ऋणीसँगको कर्जा सम्झौतामा स्पष्ट ब्याजदर, किस्ताको विवरण नदिएको, निर्देशानुसार ब्याजदर परिवर्तनको जानकारी नदिएको तथा ऋणीबाट बढी ब्याज असुल गरेको पाइएपछि बैंकलाई राष्ट्र बैंक ऐन अन्तर्गत सचेत गराइएको हो।

पोखरा फाइनान्स पाँचौं पटक कारबाहीमा

अनिवार्य नगद मौज्दात रकम अपुग भएकाले पोखरा फाइनान्सलाई ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरिएको छ। यो संस्था चालू आर्थिक वर्षमा पाँचौं पटक राष्ट्र बैंकको कारबाहीमा परेको हो।

गुहेश्वरी मर्चेन्ट फाइनान्समाथि कडा कारबाही

कर्जाको नोक्सानी व्यवस्था, वित्तीय विवरणमा त्रुटि, साधारणसभा नबोलाई सञ्चालक नियुक्ति, राष्ट्र बैंकको स्वीकृति बिना कर्मचारी नियमावली संशोधन गरेको भन्दै CEO, सञ्चालक समिति अध्यक्ष, सदस्य तथा पूर्वसञ्चालकहरूलाई छुट्टाछुट्टै पत्रमार्फत सचेत गराइएको छ।

Leave a comment