
बाँके जिल्लामा सेनाको परिचयपत्र बोकेका एक युवक लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–२ निवासी २६ वर्षीय सन्जु आले पक्राउ परेका हुन्। प्रहरीले उनीसँग १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार सन्जुले नेपाली सेनाको परिचयपत्र देखाएका थिए। तर, उक्त परिचयपत्र सक्कली हो वा नक्कली भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सञ्जुलाई बैजनाथ गाउँपालिकास्थित घरबाट पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय वनकटुवाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार सन्जुको घरमा विशेष सुराकीका आधारमा खोजतलास गर्दा जाँडको ड्रमभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार सन्जुलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।