
विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म कूल २६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरिएको छ। ती आयोजनाको कूल क्षमता १०,८२५ मेगावाट रहेको विवरणमा उल्लेख छ।
चालु आवको असोज मसान्तसम्ममा अनुमति प्राप्त आयोजनामा निम्न आयोजनाहरू रहेका छन्:
- लापा खोला – ४.७२ मेगावाट
- लोअर बरुण – १३२ मेगावाट
- म्याग्दी खोला बी – १२.५० मेगावाट
- तल्लो लिखु क्यासकेड – ६ मेगावाट
- माथिल्लो मेलम्ची – ४.९५ मेगावाट
- सुपर सभा खोला – ९.५५ मेगावाट
- लोअर मेलम्ची खोला – ४.९६ मेगावाट
- अप्पर सेती एक – १३ मेगावाट
- होङ्गु खोला – २८.९० मेगावाट
- इन्दुवा खोला – २४.९२ मेगावाट
त्यसैगरी, विभागले हालसम्म कूल १८५ आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। यस्तै, ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, ती आयोजनाको क्षमता १०,५३२ मेगावाट रहेको छ।
सौर्य परियोजनातर्फ पनि प्रगति भइरहेको छ। १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् (कूल क्षमता ८४ मेगावाट), जबकि ३ वटा सौर्य परियोजनाले अनुमति आवेदन दिएका छन् (कूल क्षमता १५ मेगावाट)।
निर्माण अनुमतिपत्र पाए पनि काम अघि बढाउन नसकेका १५ आयोजनाको अनुमति खारेज गरिएको छ। त्यस्तै, ११ आयोजनाको आवेदन प्रक्रिया पूरा नगरेको कारण खारेज भएको छ। यसैगरी, ११८ आयोजनाको सर्वेक्षण अनुमतिपत्र पनि खारेज गरिएको विभागले जनाएको छ।