
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सांघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन आग्रह गरेका छन्। चीनको तियानजिनमा सोमबार आयोजित ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्दै उनले नेपालले अब पूर्ण सदस्यता प्राप्त गर्ने अपेक्षा राखेको स्पष्ट पारे।
ओलीले यसअघि शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा पनि नेपाललाई एससीओमा पूर्ण सदस्य बनाउन सहयोगको अनुरोध गरेका थिए। हाल नेपाल एससीओको ‘संवाद साझेदार’ (Dialogue Partner) को रूपमा आवद्ध छ।
सम्बोधनमा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरूमा देखिएको हिउँको कमीले तलतिरका अर्बौं जनतालाई प्रभावित पारिरहेको उल्लेख गर्दै यस समस्याको समाधानका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औंल्याए। साथै, आतंकवाद, साइबर आक्रमण र महामारीजस्ता सीमाविहीन संकटहरूलाई रोक्न सशक्त र एकीकृत एससीओ आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, “अलगावबाट सम्पर्कतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फ विश्वलाई अघि बढाउनुपर्छ।” उनले बहुपक्षीय मञ्चहरूले वाचा मात्र गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई त्याग्नुपर्ने पनि जोड दिए।
नेपालले एससीओ भित्रको क्षेत्रीय सहयोगलाई प्राथमिकता दिने र साझा चुनौतीहरूको सामना गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले बैठकमा व्यक्त गरेका छन्।