
नेपालले स्कटल्यान्ड भ्रमणलाई ट्वान्टी–२० विश्वकप छनोटको तयारीको रूपमा लिए पनि, प्रदर्शनले नेपाली क्रिकेटप्रेमीको मुटु छाम्ने खालको रोमाञ्चकता दिएको छ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा १५२ रन बराबरी भएपछि ३ वटा सुपर ओभर खेलेर नेपालले प्रदर्शन गर्यो। त्यसको भोलिपल्ट स्कटल्यान्डसँगको खेलमा ९८ रनको लक्ष्य पुरा गर्न नेपालले अन्तिम बल कुर्नु पर्यो।
प्रशिक्षक स्टुवार्ट ल भन्छन्, “नेपालमा टिभी हेर्नेहरूलाई त हृदयघात नै आउला जस्तो खेल देखियो। तर, यस्तो रोमाञ्चक खेलले मन जितेको छ।”
नेपालले स्कटल्यान्ड भ्रमणका ४ मध्ये ३ खेल जितेको छ। प्रशिक्षक लको नेतृत्वमा नेपाली टोलीले ‘शान्त ड्रेसिङ रुम’ निर्माण गर्दै दबाबमा निर्णय लिने क्षमता विकास गरिरहेको छ।
तीव्र गतिका बलर सोमपाल कामी, गुलशन झा र नन्दन यादव घाइते हुँदा पनि नेपालले बलिङमा प्रभाव जमाएको छ। खासगरी करण केसीले जिम्मेवारी सम्हाल्दै १०० ट्वान्टी–२० विकेट पूरा गरेका छन्।
अब नेपालले अस्ट्रेलिया भ्रमण र वेस्ट इन्डिजसँगको तीन खेलको शृंखलापछि ओमानमा हुने विश्वकप छनोटमा सहभागी हुनेछ। प्रशिक्षक ल भन्छन्, “शान्त रूपमा भूमिका बुझेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्न सक्छ।”
नेपालले सन् २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो। यो वर्ष नेपाल तेस्रोपटक त्यो गौरव दोहोर्याउने तयारीमा छ।