
महेन्द्र राजमार्ग अन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा डाइभर्सनमा फसेका यात्रुहरुलाई रातारात प्रहरी टोलीले उद्धार गरेको छ।
गएराति करिब पौने १२ बजे नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको मे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको बीचमा बाढीले घेरिएर फसेको थियो। बसमा सवार २४ जना यात्रुहरू सबै सकुशल रहेका छन् र प्रहरीको सक्रियतामा उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, एक्स्काभेटरको सहायतामा करिब डेढ सय जना प्रहरी खटिई यात्रुहरुलाई राति नै खोलाबाट सुरक्षित स्थानमा पुर्याइएको हो। तर, बस भने हालसम्म पनि खोलामै रहेको छ।
६ महिनाअघि सो स्थानमा रहेको फलामे पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत सवारी साधन सञ्चालन हुँदै आएको थियो। तर बाढी आउनासाथ डाइभर्सन बारम्बार बगाउने समस्या देखिएको छ। प्रहरीका अनुसार, यस वर्ष मात्रै विनयी खोलाको डाइभर्सन ८ पटक बगिसकेको छ।
स्थानीय बासिन्दा र यात्रुहरुले बाढीको मौसममा यस्तो अस्थायी व्यवस्थाले जोखिम बढाएको भन्दै स्थायी समाधानको माग गरिरहेका छन्।