
थाइल्याण्डकी प्रधानमन्त्री पाटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले पदबाट अस्थायी रूपमा निलम्बन गरेको छ। टेलिफोन वार्तामा कम्बोडियाका पूर्व नेता हुन सेनसँगको गोप्य संवाद चुहावट भएपछि उनको विरुद्ध राजीनामाको चर्को माग उठेको हो।
विवादको मूल कारण बनेको टेलिफोन संवादमा सिनावात्राले थाइल्याण्डका सैन्य कमाण्डरको आलोचना गर्दै उनलाई ‘अंकल’ भन्ने शब्द प्रयोग गरेकी थिइन्। यो अभिव्यक्तिपछि राजनीतिक तहमा व्यापक आलोचना र असन्तुष्टि फैलिएको थियो।
यस घटनापछि प्रधानमन्त्री सिनावात्राको बर्खास्तको माग गर्दै संवैधानिक अदालतमा औपचारिक निवेदन समेत दर्ता गरिएको थियो।
घटनापछि हजारौं प्रदर्शनकारी राजधानी बैंककका सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। जनआक्रोश बढेसँगै सिनावात्राले उक्त टेलिफोन संवादका लागि सार्वजनिक रूपमा माफी मागेकी थिइन्, तर यसले विवाद शान्त पार्न सकेन।
हाल अदालतको आदेश अनुसार उनी पदबाट निलम्बित भएकी छन् र विषयको छानबिन भइरहेको छ।