Join our Channel

६ महिनामा ५ लाख ७७ हजार विदेशी पर्यटक नेपाल आए

६ महिनामा ५ लाख ७७ हजार विदेशी पर्यटक नेपाल आए

सन् २०२५ को पहिलो ६ महिनामा नेपालमा ५ लाख ७७ हजार ६८९ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार, यो संख्या गत वर्षको तुलनामा खासै वृद्धि हुन सकेको छैन।

सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५४८ जना विदेशी पर्यटक आएका थिए। त्यसको आधारमा यो वर्ष १० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको थियो। तर, हालसम्म अपेक्षा अनुसार पर्यटक नआएको बोर्डको भनाइ छ।

बोर्डका अनुसार, अन्तर्राष्ट्रिय स्तरमा नेपाल पर्यटनको प्रवर्द्धन कमजोर हुनु, नेपालसम्म पुग्न समस्या हुनु र हवाई भाडा अत्यधिक महँगो हुनु मुख्य कारण हुन्। साथै, विश्वका विभिन्न देशमा युद्धका कारण पनि पर्यटक संख्या प्रभावित भएको बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछानेले बताए।

उनका अनुसार, सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आएका थिए। त्यतिबेला ६ महिनामा ५ लाख ७३ हजार ६५८ जना विदेशी पर्यटक आएका थिए। कोरोना महामारीपछि सन् २०२४ मा मात्र केही सुधार देखिएको थियो।

यस वर्षको पहिलो ६ महिनामा सन् २०१९ को तुलनामा थोरै वृद्धि देखिए पनि गत वर्षको तुलनामा भने कमी देखिएको लामिछानेले बताए।

उनले भने, ‘कोरोनाले थलिएको पर्यटनमा सुधार भइरहेको छ तर यो वर्षको अपेक्षा पुरा हुने सम्भावना कम देखिन्छ।’ उनका अनुसार, हवाई भाडा महँगो भएका कारण पर्यटक अन्य गन्तव्य रोजिरहेका छन्।

लामिछाने भन्छन्, ‘कम्बोडिया, भियतनाम, थाइल्याण्ड जस्ता गन्तव्य सस्तो परेका कारण पर्यटक त्यता गएका छन्।’

सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन्। तर, पछिल्लो समय भारतीय पर्यटकको संख्या पनि सन्तोषजनक छैन।

बोर्डका अनुसार, बुटवल–नारायणगढ सडक खण्डको समस्या र भारतमा फैलिएको नकारात्मक सन्देशका कारण भारतीय पर्यटक घटेका छन्।

पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईका अनुसार, पर्यटन व्यवसायमा अपेक्षाअनुसार सुधार भएको छैन।

उनले भने, ‘व्यवसायमा सामान्य वृद्धि भएको भए पनि पर्यटक भने आएको देखिँदैन।’

बोर्डका तथ्यांक अनुसार, जनवरीदेखि जुन महिनासम्म विदेशी पर्यटक आगमन यस्तो छ:

  • जनवरी: ७९,९९१ जना
  • फेब्रुअरी: ९६,८८० जना
  • मार्च: १,२१,६८७ जना
  • अप्रिल: १,१६,४९० जना
  • मे: ८६,२१६ जना
  • जुन: ७६,४२५ जना

जुन महिनामा नेपालमा अहिलेसम्मकै धेरै ७६,४२५ जना पर्यटक भित्रिएका छन्।

जुन महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् — ३२,६६२ जना। त्यसपछि अमेरिकी पर्यटक ९,६९६ जना र तेस्रोमा चिनियाँ पर्यटक ६,७३६ जना रहेका छन्।

Leave a comment