
टीकापुर नगरपालिका आगामी साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिक झोला बिक्री तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ। यसका लागि नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसायीलाई सचेत गराएको छ।
नगरपालिकाले प्लाष्टिक झोला बिक्री र प्रयोग रोक्नका लागि स्थानीय व्यवसायीहरूसँग छलफलसमेत सुरु गरिसकेको छ। छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले प्लाष्टिक झोलाका कारण पानी, जमिन, वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई रोक्न सबैले सहयोग गर्नु आवश्यक रहेको बताए।
उनले भने, “हाम्रो वातावरण र स्वास्थ्यका लागि प्लाष्टिक झोला रोक्न सके ठूलो फाइदा हुनेछ। सबै व्यवसायी र उपभोक्ताको सहयोगमा टीकापुरलाई छिट्टै प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ।”
कार्यक्रममा सहभागीहरूले नगरपालिकाको निर्णयको स्वागत गर्दै कडाइका साथ ऐन कार्यान्वयन गर्न आग्रह गरेका छन्।
टीकापुर नगरपालिकाले गत वर्षै प्लाष्टिक झोला बन्द गर्न विशेष ऐन पारित गरिसकेको छ। ऐन अनुसार पहिलोपटक प्लाष्टिक झोला बेच्ने व्यापारीलाई १ हजार रुपैयाँ, दोश्रोपटक ३ हजार रुपैयाँ र तेस्रोपटक ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
त्यस्तै, प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई पनि जरिवाना गरिने व्यवस्था ऐनमा छ। पहिलोपटक १० रुपैयाँ, दोश्रोपटक ५० रुपैयाँ र तेस्रोपटक १ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।
नगरपालिकाको सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले जनचेतनामूलक कार्यक्रम, छलफल र प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन पहल थालेको जानकारी दिए।