
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले विद्युत प्राधिकरणलाई १३ हजार मेगावाट क्षमताका आयोजनाको पावर पर्चेज एग्रिमेन्ट (पीपीए) तुरुन्तै खोल्न माग गरेको छ। आइतबार नव नियुक्त विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बधाई दिन पुगेको इप्पान टोलीले १३ बुँदे मागपत्र बुझाएको हो।
इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले प्रस्तुत गरेको मागमा अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीए आवेदन दिएका सबै आयोजना समावेश छन्।
इप्पानका प्रमुख मागहरू
- नदी प्रवाहमा आधारित (ROR) आयोजना समावेश गरी सवै आयोजनाको पीपीए तुरुन्तै खोल्न।
- अध्ययनको चरणमा रहेका करिब १५ हजार मेगावाट बराबरका आयोजनाको पीपीएको सुनिश्चितता गर्न।
- आरसीओडी (अन्तिम व्यापारिक उत्पादन म्याद) तीन वर्ष थप गर्न, बाढी–पहिरो, भूकम्प, आर्थिक मन्दी, जग्गा प्राप्ति ढिलाइ लगायत फोर्स मेजर कारण देखाई।
- प्रसारण लाइनको अभावका कारण कन्टिन्जेन्सीमा सञ्चालन भइरहेका आयोजनाको व्यवस्था खारेज गर्न।
प्राधिकरणको प्रतिक्रिया
मागपत्र बुझ्दै प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले निजी क्षेत्र र प्राधिकरणबीच सहकार्य आवश्यक रहेको बताए।
उनले भने –
“दुवै सँगसँगै हिँड्नुपर्छ, एक अर्का विना चल्न सक्दैन। एक्लै–एक्लै हिँड्दा दुवै डुब्छन्।”
सिलवालले भारतसँग भएको विद्युत व्यापार सम्झौता, खपत अवस्था र माथिल्लो निकायको निर्णयअनुसार नयाँ पीपीए अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
आरसीओडी म्याद थपका लागि फोर्स मेजर उपयुक्त कारण हुने बताएपछि उनले अन्य ढिलाइका कारण तुरुन्त प्राधिकरणलाई जानकारी दिन आग्रह गरे।