
स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे स्कटल्याण्डको टितवुड क्रिकेट मैदानमा सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग टिएसओ (सुपर ओभर) सम्मको रोमाञ्चक भिडन्तमा पराजय भोगेको थियो।
दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्याण्डलाई २ विकेटले हराउँदै सशक्त कमब्याक गरेको थियो।
नेदरल्याण्ड्सले भने अहिलेसम्म दुबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। उसले पहिलो खेलमा स्कटल्याण्डलाई ३९ रनले पराजित गरेपछि, दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा र तेस्रो खेलमा पुनः स्कटल्याण्डलाई १७ रनले हराएको थियो।
अंक तालिकामा नेदरल्याण्ड्स अग्रस्थानमा
हालसम्मको प्रदर्शनअनुसार नेदरल्याण्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र स्कटल्याण्डले समान १/१ खेल जितेपनि रनरेटको आधारमा स्कटल्याण्ड दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ।
नेपाल र नेदरल्याण्ड्सबीचको इतिहास
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा नेदरल्याण्ड्सले ८ पटक जित निकालेको छ भने नेपालले ५ पटक जितेको छ। एक खेल परिणामबिहीन रहेको थियो।
सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेल्ने
यो शृङ्खलाको अन्तिम खेल शुक्रबार हुनेछ, जसमा नेपालले स्कटल्याण्डसँग भिड्नेछ।
उल्लेखनीय छ कि आइसिसी क्रिकेट विश्वकप लिग २ को चौथो चरण सकिएपछि त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको हो।