Join our Channel

छठ पर्व : श्रद्धा, श्रम र समानताको संगम

छठ पर्व : श्रद्धा, श्रम र समानताको संगम

छठ पर्व केवल धार्मिक अनुष्ठान होइन, यो श्रम, शुद्धता, समानता र प्रकृतिप्रतिको कृतज्ञताको उत्सव हो। सूर्य, जल, माटो र श्रमको अद्भुत एकतामा आधारित यो पर्वले मानिसलाई सम्झाउँछ — अस्तित्व केवल घर र परिवारमा सीमित छैन, प्रकृतिसँगको सन्तुलनमा निहित छ।

छठ पर्वको पूजा घरभित्र होइन, खुला आकाशमुनि नदी, ताल वा पोखरी किनारमा गरिन्छ। भक्तजन घाटमा भेला भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन्। यसरी छठ धर्मभन्दा माथि उठेर सामूहिकता, आस्था र प्रकृतिप्रतिको सम्मानको प्रतीक बनेको छ।

सूर्यपूजाको प्राचीन परम्परा

सूर्यपूजा मानव सभ्यताका सबैभन्दा पुराना परम्परामध्ये एक हो। ऋग्वेदमा सूर्यलाई जीवनदाता र ऊर्जा स्रोतका रूपमा उल्लेख गरिएको छ। यही परम्पराको निरन्तरता आजको छठ पर्व हो। पौराणिक ग्रन्थहरूका अनुसार कुन्ती र द्रौपदीले पनि सूर्यको आराधनाका लागि यो व्रत गरेका थिए।

मिथिला, भोजपुर, विहार र नेपालका पूर्वी तराई क्षेत्रमा यो पर्व हजारौं वर्षदेखि मनाइँदै आएको छ। किसान र ग्रामीण समुदायले वर्षको उपजप्रति सूर्यको कृपा सम्झँदै यो पर्वलाई आभारको रूपमा मनाउने गर्छन्।

छठी माता र सूर्य पूजा

पौराणिक कथाअनुसार छठी माता सूर्यदेवकी स्त्री स्वरूप हुन्। कतैकतै उनलाई सूर्यकी पत्नी ‘उषा’का रूपमा पनि पूजिन्छ। उषा अर्थात् बिहानको पहिलो उज्यालो — नयाँ आशा र सुरुवातको प्रतीक। कतिपय लोकव्याख्यामा छठी मातालाई सूर्यकी बहिनीका रूपमा पनि मानिन्छ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन शुद्धता र व्रतको प्रारम्भ, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य, र अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ।

श्रम र आत्मनिर्भर जीवनशैलीको पर्व

छठमा प्रयोग हुने सबै पूजा सामग्री घरेलु रूपमा तयार पारिन्छ — माटाका दीया, फलफूल, ठेकुवा, ठकुवा जस्ता प्रसाद। यसरी छठले स्थानीय उत्पादन, श्रमको सम्मान र आत्मनिर्भरता प्रोत्साहित गर्छ।

वैज्ञानिक रूपमा पनि यो पर्व उपयोगी छ — बिहानको सूर्यका किरणले शरीरमा भिटामिन डी प्रदान गर्छ, पानीमा नाङ्गो खुट्टा उभिँदा शरीरमा ऊर्जा प्रवाह हुन्छ। व्रत र संयमले मानसिक तथा शारीरिक अनुशासन बलियो बनाउँछ।

विश्वभर फैलिँदै छठ पर्व

छठ अहिले केवल मधेस वा मिथिला क्षेत्रमा सीमित छैन। विदेशमा रहेका नेपाली र भारतीय समुदायले अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशहरूमा कृत्रिम पोखरी बनाएर पनि यो पर्व मनाउने गर्छन्।

छठले धनी–गरिब, जात–धर्म सबैलाई एउटै घाटमा उभ्याएर समानता, स्वच्छता र प्रकृतिप्रतिको प्रेमको सन्देश दिन्छ। यो केवल व्रत होइन, मानवता र सामूहिक चेतनाको पर्व हो।

Leave a comment