
इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको अपहरणपछिको भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोले जोशी जीवित रहेको आशा जगाएको छ।
परिवारका अनुसार यो भिडियो इजरायली सेनाले ‘युद्धका दौरान प्राप्त सामग्री’ (IDF spoils) भित्र फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत नेपालमा रहेका परिवारसम्म पु–र्याइएको हो।
नोभेम्बर २०२३ मा खिचिएको अनुमान
उक्त भिडियो सन् २०२३ नोभेम्बर महिनामा खिचिएको अनुमान गरिएको छ। भिडियोमा विपिन जोशीलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देख्न सकिन्छ।
विपिन जोशीको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेका छन् —
“त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि आस्था र आशाको आधार हो।”
दुई वर्षअगाडिको भयावह घटना
२०२३ अक्टोबरमा इजरायलमा कार्यरत विपिन जोशीलाई एक अज्ञात किब्बुत्ज (कृषि बस्ती) बाट जबरजस्ती अपहरण गरिएको थियो।
त्यो दिन उनका १० जना नेपाली साथीहरू मारिएका थिए, जसले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको थियो।
आशा अझै बाँकी छ
परिवारले भन्यो —
“दुई वर्षसम्म हामीले कल्पनासमेत गर्न सकेनौं कि विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन्। तर अब त्यो कल्पना होइन, वास्तविकता हो। भिडियोमा देखिएको जीवनको संकेतले हामीमा विश्वास जगाएको छ कि उनी अझै जिउँदा छन्।”
भिडियो केही महिनासम्म इजरायली सेनाको गोप्य निगरानीमा राखिएको थियो र अहिले मात्रै सार्वजनिक गर्न अनुमति दिइएको हो।
परिवारको अपिल
विपिनका परिवारले नेपाली र अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वसँग अपिल गर्दै भनेका छन् —
“यी निर्णायक र ऐतिहासिक क्षणहरूमा कुनै पनि पक्षले हार नमानोस्। बाँकी रहेका सबै ४८ जना अपहृतहरूलाई घर फर्काइयोस्। हामीले अझै पनि आशा गुमाएका छैनौं।”