
ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोट अन्तर्गत नेपालले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ।
समूह ‘बी’मा रहेका नेपाली खेलाडीहरूले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रनको सम्मानजनक योगफल बनाए। जवाफमा कुवेत १८.१ ओभरमै ८३ रनमा समेटिँदा नेपालले सहज जित हात पार्यो।
नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शन
नेपालका लागि कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट हात पारे।
कुशल भुर्तेलको शानदार ब्याटिङ
नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट ६६ रनको पारी खेले। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो १२औं टी२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे।
कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०–२० रन बनाए।
कुवेतको कमजोर ब्याटिङ
कुवेतका ओपनर क्लिन्टो एन्टोले २ छक्का सहित २६ रन बनाए भने यासिन पटेलले १९ रन योगदान गरे। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल भए।
सुपर सिक्समा नेपालको प्रवेश
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो स्थान पक्का गरेको छ। नेपालले आफ्नो दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ।