Join our Channel

ब्राजिलको आग्रह : रुस–युक्रेन शान्ति प्रयासमा संयुक्त राष्ट्रसंघले नेतृत्व लिनुपर्छ

ब्राजिलको आग्रह : रुस–युक्रेन शान्ति प्रयासमा संयुक्त राष्ट्रसंघले नेतृत्व लिनुपर्छ
Getty Images

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्धको समाधानका लागि संयुक्त राष्ट्रसंघलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन्। उनले विश्व समुदायको पहलमा ‘शान्ति समूह’ गठन गरी वार्ता प्रक्रिया अघि बढाउन राष्ट्रसंघलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका हुन्।

फ्रान्स भ्रमणको क्रममा लुलाले पत्रकार सम्मेलनमा भने, “रुस–युक्रेन द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्रसंघ फेरि एक नायक बन्न सक्छ।” उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई ‘असल मानिस’को संज्ञा दिंदै द्वन्द्व अन्त्यका लागि थप प्रयास गर्न आह्वान गरे।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि ब्राजिलको ‘महत्त्वपूर्ण भूमिका’ रहेको बताएको केही दिनपछि लुलाको यस्तो अभिव्यक्ति आएको हो। रुस र युक्रेनबीच तीन वर्षभन्दा लामो युद्ध अन्त्यका लागि इस्तानबुलमा दोस्रो चरणको प्रत्यक्ष वार्ता सुरु भइसकेको छ।

राष्ट्रपति लुलाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ताको वातावरण तयार पार्न राष्ट्रसंघले ‘मित्र राष्ट्रहरूको समूह’ बनाउनु पर्ने धारणा राखे। उनका अनुसार यस्तो समूहले दुवै पक्षका यथार्थ बुझेर शान्ति समाधानका विकल्प खोज्न सक्नेछ।

उनले भने, “युद्धबाट कुनै पनि पक्षले सबै जित्न सक्दैन, वार्ता नै एक मात्र बाटो हो।” उनले युक्रेन वा रुससँग सीधा संलग्न नभएका देशहरूको सहभागितामा शान्ति आयोग गठन गर्न आफू इच्छुक रहेको पनि बताए।

यद्यपि अधिकांश युरोपेली राष्ट्रहरूले मस्कोविरुद्ध कडा नीति लिइरहँदा लुला भने मस्कोसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै युक्रेनप्रति तटस्थ भूमिका देखाउँदै आएका छन्।

ब्रिक्स समूहको आगामी जुलाई सम्मेलन रियो दि जेनेरियोमा आयोजना हुँदैछ। यसमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेका पुटिनलाई समेत सहभागी हुन निमन्त्रणा गरिएको लुलाले जानकारी दिएका छन्।

यसैबीच, रुसले युक्रेनसँग भएको ठूलो संख्यामा सैनिक आदानप्रदान स्थगित गरेको आरोप लगाएको छ।

Leave a comment