
मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित स्वदेशमै प्याज खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश परवानीपुरद्वारा आयोजित दुई दिने व्यावसायिक प्याज उत्पादनसम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रमुख डा. हरेराम यादवले भने, “प्याज नेपाली भान्साको आधारभूत तरकारी हो। तर, हामीले भारतबाट ठूलो परिमाणमा प्याज आयात गर्नुपरेको अवस्था दु:खद छ।”
उनले नेपालको माटो, मौसम र वातावरण प्याज खेतीका लागि उपयुक्त भए तापनि व्यावसायिक रुपमा यसमा प्रगति नहुनु कृषि राष्ट्रका लागि गम्भीर चुनौती भएको बताए।
त्यस्तै, केन्द्रका निर्देशक डा. विशेश्वरप्रसाद यादवले सफल कृषि अनुसन्धानबिना मुलुक आत्मनिर्भर बन्न नसक्ने उल्लेख गरे। “हामीले प्याजको बीउ पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरेका छौं। यदि सफल भयौं भने वर्षेनी अरबौं रुपैयाँको प्याज आयात घटाउन सकिन्छ,” उनले स्पष्ट पारे।
हाल प्याज खेतीमा किराको समस्या देखिएको र जलवायु परिवर्तनले प्याजको आकारमा असर पारेको भन्दै डा. यादवले किसानहरूलाई निरुत्साहित हुन नदिइ खेतीमा लाग्न हौसला दिनुपर्ने बताए।
प्याज खेतीसम्बन्धी तालिममा पर्सा, बारा, रौतहटका ३० जना अगुवा किसान सहभागी थिए। उनीहरूलाई कृषि वैज्ञानिक डा. प्रमोद वाग्ले, प्राविधिक अधिकृत डा. सुरेशकुमार साह र वैज्ञानिक डा. आनन्द मिश्रले विषयगत जानकारी दिएका थिए।