
भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा जबर्जस्ती बन्धक बनाइएका ५७ जना नेपालीको सफल उद्धार गरिएको छ। ती नेपालीहरुलाई राम्रो तलब र सजिलो प्याकिङ कामको लोभ देखाएर भारत लगिएको थियो, तर अन्त्यमा उनीहरू कैदीजस्तै अमानवीय अवस्थामा राखिएका थिए।
कैलालीका १३ वर्षीय मानबहादुर विक, जसका आमा–बुवा बिरामी छन् र कमाउने कोही छैन, गाउँकै दाईको कुरामा भारत गएका थिए। उनले ४० हजारमा घरधितो राखेर ऋण लिएर भारतको रुद्रपुर पुगे। सुरुमा होस्टलमा राखेर प्रशिक्षण दिएको नाटक गरियो, पछि मोबाइल खोसियो, खानपिन खराब भयो र कैदीसरह जीवन विताउन बाध्य भए।
कास्कीका विशाल बुढाथोकीलाई धरानका नविन नामका व्यक्तिले फोन गरेर राम्रो जागिरको प्रलोभन दिए। उनले पनि सुरुमा २३ हजार भारु बुझाए। केही दिनपछि उनलाई र अरु नेपालीहरुलाई कोठामा थुनेर काम गराइयो। मोबाइल आफैं राख्ने, अफन्तसँग बोल्न दिने नाममा अर्को नेपालीलाई फसाउने जालो बुनेको थियो।
ती सबै नेपालीलाई सुरुमा रुद्रपुरमा राखेर पछि काशीपुर लगिएको थियो। त्यहाँ कुटपिट र यातना समेत दिने गरिएको बताइएको छ। यी सबै क्रियाकलापको पर्दाफास ताप्लेजुङका सोम लिम्बूको मृत्युपछि भएको हो।
सोम लिम्बूको मृत्युपछि स्थानीय प्रहरी र प्रशासनले गृह मन्त्रालयलाई जानकारी दिए। त्यसपछि परराष्ट्र मन्त्रालय मार्फत नेपाली दूतावास दिल्लीलाई खबर पुगेपछि अनुसन्धान सुरु भयो। त्यसपछि भारतको उत्तराखण्ड प्रहरीको सहयोगमा किन इण्डियाले अप्रेसन चलाएर बन्धक बनाइएका नेपालीको उद्धार गर्यो।
किन इण्डियाका नविन जोशीका अनुसार काशीपुरबाट ३५ जना र रुद्रपुरबाट २२ जनाको उद्धार गरिएको हो। यीमध्ये केही जंगलबीच लुकाइएको घरबाट ३० किलोमिटर पिछा गरेर उद्धार गरिएको थियो। उद्धारको बेलामा बाउन्सर राखेर नेपालीहरुलाई डर त्रासमा राखिएको थियो।
बन्धक बनाउने मुख्य व्यक्ति डोटीका वीरेन्द्र शाही र उनका सहयोगी मनिष तिवारीलाई पक्राउ गरिएको छ। शाहीले २०१८ देखिनै नेपालीहरुलाई राम्रो कामको लोभ देखाएर पैसा उठाउने र अरुलाई बोलाउन लगाउने कार्य गर्दै आएको खुलेको छ।
उद्धार गरिएका नेपालीलाई गड्डाचौकी नाका हुँदै बुधबार नेपाल ल्याइएको छ। महेन्द्रनगरमा राखिएका उनीहरूलाई स्थानीय उद्योग वाणिज्य संघले खानपिन र बसोबासको व्यवस्था गरेको छ भने घरसम्म पुर्याउनका लागि महाकाली यातायातसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।