Join our Channel

बस यात्राकै क्रममा युवकको मृत्यु, नुवाकोट प्रहरीले अनुसन्धान अघि बढायो

बस यात्राकै क्रममा युवकको मृत्यु, नुवाकोट प्रहरीले अनुसन्धान अघि बढायो

काठमाडौंबाट नुवाकोटको किस्पाङतर्फ जाँदै गरेको बसभित्र एक युवक अचेत अवस्थामा फेला परेपछि उनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका–९ लामाटार निवासी २५ वर्षीय अमृत विश्वकर्मा सवार बस (प्रदेश ३–०१००५ख–९४६५) मा बेहोस अवस्थामा फेला परेका थिए।

बस विदुर नगरपालिका–१ ढुंगे पुग्दा विश्वकर्मा अचेत अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएको थियो। तर, अस्पतालका चिकित्सकले सोमबार बेलुकी उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार, घटनाको प्रारम्भिक अनुसन्धानमा विश्वकर्माले अत्यधिक मात्रामा लागूऔषध सेवन गरेको आशंका गरिएको छ। अस्पतालको कागजातले पनि सो कुराको पुष्टि गरेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार युवकको मृत्यु गाडीमै भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकलाई काठमाडौंबाट घर फर्किन उनका साथीहरूले बसमा चढाइदिएको बुझिएको छ।

प्रहरीले अहिले घटनाको थप विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a comment