
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिलाई आफ्नो लोगो दुरुपयोग नगर्न कडा चेतावनी दिएको छ।
पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा भदौ ४ मा गठन गरिएको तदर्थ समितिले आफूलाई एक मात्र आधिकारिक एनओसी दाबी गर्दै आएको छ। तर, ओसीएका महानिर्देशक हुसेन अल मुसल्लाहले आइतबार पठाएको पत्रमा सो दाबीलाई अवैधानिक ठहर गर्दै लोगो प्रयोग तत्काल रोक्न चेतावनी दिएका छन्।
पत्रमा भनिएको छ, “तपाईंले ओसीएको लोगो प्रयोग गर्नु अवैधानिक छ। यदि तुरुन्त रोकिएन भने आवश्यक कानुनी कारबाही गरिनेछ।” यो पत्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र वैधानिक एनओसीलाई समेत बोधार्थ गरिएको छ।
यसअघि, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीमार्फत तदर्थ समितिले एसियाली खेलकुदमा नेपाललाई सहभागिता गराउने पत्राचार गरेको थियो, तर आयोजकले स्वीकार गरेका थिएनन्। अब ओसीएको चेतावनीपछि एसियाली खेलकुदमा नेपालको सहभागिता अझ अनिश्चित बनेको छ।