
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल क्षेत्रमा ‘नो भोट’ अभियानका कारण मतदान केन्द्रमा एक जनाले पनि मतदान नगरेको घटना सार्वजनिक भएको छ।
सातसल्लेको शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दिउँसो १२ बजेसम्म एक जना मतदाताले पनि मतदान नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीयका अनुसार टोक्सेलको हर्कपुर क्षेत्रमा प्रादेशिक अस्पताल स्थापना गर्ने माग लामो समयदेखि पूरा नभएपछि उनीहरूले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्।
स्थानीय कुमार गौतमका अनुसार अस्पताल स्थापना गर्न स्थानीयले १६७ रोपनी जग्गासमेत उपलब्ध गराए पनि सरकारले अस्पताल निर्माणको काम अघि नबढाएको भन्दै आम भेलामार्फत मतदान नगर्ने घोषणा गरिएको थियो।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार निर्वाचनमा खटिएका कर्मचारीहरू जनप्रतिनिधिको रोहबरमा मुचुल्का उठाएर मतदान केन्द्रमै बसेका छन्। तर दिउँसोसम्म कुनै मतदाता मतदान गर्न नआएको उनले बताए।
निर्वाचन नियमअनुसार तोकिएको समयसम्म कर्मचारीहरू मतदान केन्द्रमा रहनेछन्। यदि त्यस अवधिसम्म पनि मतदाता नआएमा केन्द्र बन्द गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रका मतदान अधिकृत प्रवासी राईका अनुसार सबै तयारी पूरा भए पनि हालसम्म मतदाताको उपस्थिति नदेखिएको र उनीहरू मतदाताको प्रतीक्षामा रहेको बताइन्।
स्थानीयको माग सम्बोधन नभएपछि सुरु गरिएको ‘नो भोट’ अभियानले यस क्षेत्रको निर्वाचन प्रक्रियामा विशेष ध्यान तानेको छ।