
भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्।
पूर्व उद्योग मन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका बस्नेतले सूर्यविनायक–७ स्थित वडा कार्यालय मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
बस्नेत २०७० सालदेखि लगातार एमालेका तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्। यसपटकको निर्वाचनमा उनी चौथो पटक उम्मेदवार बनेका हुन्।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बस्नेतले करिब १८ हजार मतान्तरसहित विजय हासिल गरेका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका दुर्लभ थापासँग ९ सय ५७ मतले पराजित भएका थिए।
यसपटकको निर्वाचनमा भक्तपुर–२ मा बस्नेत पुनः एमालेको तर्फबाट मैदानमा उत्रिएका छन्। मतदानपछि उनले मतदाताको उत्साहजनक सहभागिता देखिएको बताएका छन्।