
सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक पहिरो खसेपछि सडक आवागमन पूर्ण रूपमा रोकिएको हो।
चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार लगातार ढुङ्गासहितको पहिरो खसिरहेकोले सडक खुलाउन कठिन भएको छ। बिहान साढे ६ बजेसम्म पनि पहिरो खस्ने क्रम रोकिएको छैन।
प्रहरीका अनुसार, पहिरो खस्ने क्रम रोकिएपछि तीनवटा मेसिन प्रयोग गरेर पन्छाउने तयारी गरिएको छ। राति ठूलो मात्रामा पहिरो खसेकाले सफा गर्न ढिलो भएको हो।
सडक अवरुद्ध हुँदा काठमाडौं–पोखरा रुटका सवारीसाधन समेत प्रभावित भएका छन्। प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न आग्रह गर्दै माइकिङ गरेको छ।
सडक बन्द हुँदा यात्रुहरू रातभर अलपत्र परेका थिए। पहिरो खस्दा दुईवटा इभी माइक्रो बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिग्रस्त माइक्रोमध्ये एकको नम्बर प्रदेश ०३–००१ ज ११६१ र अर्कोको नम्बर बागमती प्रदेश ०३–००१ ज ३१० रहेको छ।