
भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गरेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका मिस्री सोमबार दिल्ली फर्किएका हुन्।
मिस्रीले आइतबार प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निम्तो हस्तान्तरण गरेका थिए। यससँगै ओलीको भारत भ्रमण औपचारिक बनेको छ। यद्यपि भ्रमणको मिति घोषणा नभए पनि भदौ ३१ र असोज १ गते दुईदिने भ्रमण तय भइसकेको परराष्ट्र स्रोतले जनाएको छ। यस पटक प्रधानमन्त्री ओली दिल्ली नभई बोधगया जाने तयारीमा छन्, जहाँ मोदीसँग द्विपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार भ्रमणको मिति आपसी सहमतिमा तय भई औपचारिक रूपमा घोषणा गरिनेछ।
द्विपक्षीय छलफल र एजेन्डा
नेपाल–भारत सचिवस्तरीय बैठकमा प्रधानमन्त्री ओलीको भ्रमणलाई उपलब्धिमूलक बनाउन कनेक्टिभिटी, ऊर्जा सहयोग, डिजिटल सम्पर्क र विकास सहयोगबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले पनि आगामी भ्रमणको सम्भावित एजेन्डा र सहकार्यका अवसरबारे चर्चा भएको उल्लेख गरेको छ।
भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, एयर रुट, व्यापारमा सहजता, कानुनी सहयोग सम्झौता (एमएलए) लगायत विषय प्राथमिकतामा रहनेछन्। गत महिना गृह सचिवस्तरीय बैठकमा एमएलएको मस्यौदामा सहमति जुटिसकेको थियो। तर, सुपुर्दगी सन्धिको नयाँ मस्यौदा तत्काल एजेन्डामा राख्ने नेपाल इच्छुक छैन।
उच्चस्तरीय भेटघाट
काठमाडौं बसाइका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसँग भेटघाट गरेका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशकेन्द्रित दलका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए।
मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर लाइट स्ट्राइक भेइकल, क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य जनावरहरू हस्तान्तरण गरेका थिए।