Join our Channel

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको विभागको विश्लेषण छ।

आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना विभागले जनाएको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रका नदी–नालामा पानीको बहाव बढ्ने, पहिरो तथा डेब्रिज फ्लोको जोखिम रहन सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

Leave a comment