Join our Channel

जुम्ली स्याउ निर्यात सुरु : भदौ १५ पर्खनुपर्ने निर्णय परिवर्तन, तीजअघि बजारमा पुग्ने

जुम्ली स्याउ निर्यात सुरु : भदौ १५ पर्खनुपर्ने निर्णय परिवर्तन, तीजअघि बजारमा पुग्ने

जुम्लाका आठवटै स्थानीय तहका कृषि विकास शाखाले यस वर्षको जुम्ली स्याउ निर्यातका लागि सिफारिस दिन सुरु गरेका छन्। यसअघि भदौ १५ सम्म मात्र ढुवानी गर्न पाउने निर्णय गरिएको थियो, तर जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकिसकेकाले निर्यात प्रक्रिया अघि बढाइएको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले पाकेको स्याउ ढिलो गर्नुभन्दा तुरुन्तै बजारसम्म पु¥याउनु पर्ने निष्कर्ष निकालेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष तीज भदौ १० मा परेको हुँदा त्यसअघि नै बजारमा पुर्याउनुपर्ने भएकाले सिफारिस सुरु गरिएको हो।

बागवानी विकास अधिकृत तीर्थराज देवकोटाले असार महिनादेखि पाक्ने जातको स्याउ फाट्टफुट्ट लैजाने गरिएको भए पनि औपचारिक निर्यात अब मात्र सुरु भएको बताए। उनका अनुसार जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, चितवन, बुटवल, भैरहवा हुँदै काठमाडौंसम्म पुर्याइनेछ।

जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। यस वर्ष करिब २ हजार हेक्टरमा मात्र स्याउ फलेको छ। गत वर्ष १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भए पनि यसपटक खडेरी र असिनाले उत्पादनमा गिरावट हुने अनुमान गरिएको छ।

बैठकले काँचो स्याउको नाममा गुणस्तरहीन फल बजारमा जान नदिने र प्रहरीद्वारा बरामद गरिएको स्याउ गुणस्तर परीक्षण गरेर मात्र पठाउने निर्णयसमेत गरेको छ।

Leave a comment