
प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ बहुमतले पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेपछि प्रतिनिधिसभाले यसलाई अनुमोदन गरेको हो।
बैठकमा विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरेर लगानीको वातावरण सुदृढ बनाउने उद्देश्यसहित विधेयकमा धेरै हेरफेर नगरिएको स्पष्ट पारे।
उनले भने, “राजस्वको दर बारम्बार हेरफेर गर्दा लगानीकर्ताले अनुमान गर्न नसक्ने स्थिति बन्ने भएकाले कर नीतिमा स्थिरता ल्याउने प्रयास गरिएको हो। यसले समग्र कर प्रणालीमा सकारात्मक सन्देश दिन्छ।”
अर्थमन्त्री पौडेलका अनुसार, आर्थिक ऐन २०८२ ले करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई कर प्रणालीभित्र ल्याउने र उद्योग व्यवसायमा लगानी प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण र सन्तुलित विकासको लक्ष्यसहित उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइएको जनाए।
स्वास्थ्यमा प्रतिकूल असर गर्ने मदिरा र सुर्तीजन्य वस्तुमाथि कर हेरफेर गरिएको छ भने अग्रिम आयकरको व्यवस्था हटाइएको उल्लेख गरे।
बैठकमा पेश गरिएका सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका छन्।