
अर्जेन्टिनी क्लब रिभर प्लेटले क्लब वर्ल्डकप २०२५ मा प्रभावशाली सुरुवात गरेको छ। मंगलबार भएको खेलमा उसले जापानको उरवा रेड डाइमन्ड्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तीन अंक जोडेको हो।
रिभर प्लेटका लागि फकुन्डो कोलिडोओ, सबास्टिन ड्रिसी, र म्याक्सिमिलिनो मेजाले एक–एक गोल गरे। उनीहरूको सामूहिक प्रदर्शनका कारण अर्जेन्टिनी टिमले जापानी क्लबको कडा चुनौती सहजै पार गर्न सफल भयो।
उरवा रेड डाइमन्ड्सका लागि एक मात्र सान्त्वना गोल यसुके मातासुओले पेनाल्टीमार्फत गरेका थिए। यो खेल समूह ‘ई’ अन्तर्गत भएको हो।
अर्कोतर्फ, समूह ‘एफ’ मा दक्षिण अफ्रिकाको मामेलोडी सनडाउन्सले कोरियन क्लब उल्सन हुन्डालाई १–० ले हराएको छ। खेलको एक मात्र निर्णायक गोल इकराम रायनर्सले गरेका थिए, जसको मद्दतले मामेलोडी तीन अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।
यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्ड र ब्राजिलियन क्लब फ्लुमिनेजबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।