
क्लब विश्वकप फुटबलमा चेल्सीले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेजलाई २–० ले हराउँदै उपाधि भिडन्तमा प्रवेश गरेको हो ।
चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले टिमको फाइनल यात्रा ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, “यो सिजन हाम्रो लागि अत्यन्तै सफल रह्यो । प्रिमियर लिगको शीर्ष चारमा रह्यौं, कन्फ्रेन्स लिग जित्यौं र अहिले क्लब वर्ल्डकपको फाइनलमा छौं ।”
नयाँ अनुबन्धित स्ट्राइकर जाओ पेड्रो खेलको हिरो बने । उनले पहिलो पटक सुरुदेखि खेल्ने अवसर पाएर १८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । मेटलाइफ स्टेडियममा उनले खेलको ६०औं मिनेटतिर दोस्रो गोल थप्दै टिमको जित पक्का गरे ।
ब्राइटनबाट चेल्सीमा आएका २३ वर्षीय पेड्रोले पाल्मेरियासविरुद्ध क्वाटरफाइनलमा मात्र डेब्यु गरेका थिए । फाइनलमा अब चेल्सीले रियल म्याड्रिड वा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग उपाधिका लागि भिड्नेछ ।
फ्लुमिनेजको भने प्रतियोगितामा यात्रा सेमिफाइनलमै रोकिएको छ । यसअघि फ्लुमिनेजले बोरुसिया डर्टमन्ड, इन्टर मिलान र अल–हिलाललाई पराजित गर्दै सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । चेल्सीको जितसँगै प्रतियोगिताबाट दक्षिण अमेरिकी क्लबहरूको चुनौती पनि अन्त्य भएको छ ।