
संरक्षित वन्यजन्तु सालकको आखेटोपहारसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार तारकेश्वर नगरपालिका–८, शिव मन्दिर चोकबाट करिब २ किलोग्राम तौलको सालकको आखेटोपहार २ थानसहित दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुंगाना रहेका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाएको जनाएको छ।
सालक (Pangolin) नेपालमा संरक्षित वन्यजन्तु सूचिमा पर्ने जनावर हो। यसको छाल, माछापंखी जस्ता स्केल्स र शरीरका भागहरू अवैध रूपमा तस्करी हुने गरेकाले यसमा कडाइका साथ निगरानी गरिँदै आएको छ।