Join our Channel

एएफसी एसियन कप छनोटमा नेपाल १० खेलाडीमा सीमित, भियतनामसँग ३–१ ले पराजित

एएफसी एसियन कप छनोटमा नेपाल १० खेलाडीमा सीमित, भियतनामसँग ३–१ ले पराजित

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित हुँदै भियतनामसँग ३–१ ले पराजित भएको छ। खेल भियतनामको हो डाउ स्टेडियममा सम्पन्न भएको थियो।

पहिलो हाफको सुरुवाती चरणमै भियतनामले अग्रता लिएको थियो। खेलको ९औं मिनेटमा नुगेन तेन लिनले गोल गर्दै १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको १७औं मिनेटमा सनीस श्रेष्ठले हेडर गोल गर्दै नेपाललाई बराबरीमा फर्काए। मिडफिल्डर रोहन कार्कीको फ्रिकिकमा सनीसले गोल गरेका थिए। यो गोल सनीस श्रेष्ठको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

नेपालले राम्रो प्रदर्शन गर्दै पहिलो हाफमा बराबरी कायम राखे पनि थपिएको समयमा मिडफिल्डर लकेन लिम्बुले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो। उनले भियतनामका खेलाडीलाई पछाडिबाट फाउल गरेका थिए।

दोस्रो हाफमा खेलको दिशा भियतनामतर्फ मोडियो। ६७औं मिनेटमा पाम छुएन मन्हाले कर्नरमा आएको बल गोलमा परिणत गर्दै २–१ को अग्रता दिलाए। गोलकिपर किरण चेम्जोङले क्लियर गर्न खोजेको बल फिर्ता भियतनामकै खेलाडीले गोलमा पठाएका थिए।

७२औं मिनेटमा गुयान भान भिले तेस्रो गोल गर्दै खेललाई ३–१ मा पुर्‍याए। किरण चेम्जोङको क्लियर गर्ने प्रयासलाई उनले गोलमा परिणत गरेका थिए।

नेपालका लागि खेलमा एउटा विशेष पक्ष भनेको युवा खेलाडी कुशल देउवाको राष्ट्रिय टिममा डेब्यु हो। यू-२० टोलीका कप्तान रहेका देउवाले ८५औं मिनेटमा आयुष घलानलाई प्रतिस्थापन गर्दै पहिलो पटक राष्ट्रिय टिममा खेल्ने अवसर पाए।

नेपालले अन्तिमसम्म संघर्ष गरे पनि संख्यात्मक कमी र रक्षात्मक कमजोरीका कारण जित हात पार्न सकेन।

Leave a comment