
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। संविधान दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न जनआन्दोलनको मर्म आत्मसात गर्दै सरकार जनताका अपेक्षाअनुसार अघि बढ्ने धारणा राखिन्।
संविधान जनआन्दोलनको प्रतिफल
प्रधानमन्त्री कार्कीले नेपालको संविधान पटक–पटक जनआन्दोलन, संघर्ष र बलिदानबाट निर्माण भएको बताउँदै यसले नेपाल र नेपालीको भाग्य तथा भविष्यलाई प्रतिविम्बित गर्ने मार्गदर्शक दस्तावेजको भूमिका निर्वाह गर्ने उल्लेख गरिन्।
उनले संविधान दिवसलाई केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन भएको स्पष्ट पारिन्। “संविधान कार्यान्वयनका क्रममा के हासिल गर्यौं र के गर्न सकेनौं भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्नेछ,” उनले भनिन्।
जनताको आवाज लोकतन्त्रको आत्मा
प्रधानमन्त्री कार्कीले संविधानको भावना र प्राण सधैं जीवन्त रहने बताइन्। “संविधानका अक्षरहरू अस्थिर हुन सक्छन् तर यसको भावना र प्राण सधैं जीवन्त हुन्छ,” उनको भनाइ थियो।
उनले जनभावना संविधानका अक्षरभन्दा अझ व्यापक र गतिशील हुने भन्दै जनताको आवाजलाई बेवास्ता गर्न नसकिने स्पष्ट गरिन्। “जनताका आवाज नै लोकतन्त्रको आत्मा हो, त्यसैले जनभावनालाई बेवास्ता गर्न सकिँदैन,” उनले जोड दिइन्।
पारदर्शिता, सुशासन र भ्रष्टाचार अन्त्यमा जोड
प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, सुशासन र भ्रष्टाचार अन्त्य सबै पुस्ताका साझा अपेक्षा भएको उल्लेख गरिन्। उनले यस्ता राष्ट्रिय एजेण्डालाई आत्मसात गर्दै सरकार निरन्तर सुधार र विकासतर्फ अघि बढ्ने बताइन्।
संक्रमणकालीन नेतृत्व
प्रधानमन्त्री कार्कीले आफू पदको लोभले नभई देश संकटमा रहेका बेला युवा पुस्ताको आग्रहमा संक्रमणकालीन व्यवस्थापन गर्न नेतृत्व लिनुपरेको बताइन्।
उनले संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने जानकारी दिइन्।
साथै, उनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना र व्यवसायिक प्रतिष्ठानलाई पुनःनिर्माण र पुनर्जीवन दिने चुनौती रहेको उल्लेख गर्दै सबै पक्षसँग सहकार्यको आग्रह समेत गरिन्।