
अविरल वर्षा र सम्भावित प्राकृतिक विपद्को बीचमा प्रधानमन्त्री सुशिला कार्कीले देशबासीलाई सम्बोधन गर्दै राज्यका सम्पूर्ण स्रोत नागरिकहरूसँग रहेको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा हाल देशभर वर्षाको प्रभावले बाढी–पहिरोको जोखिम बढेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गर्दै भनिन् —
“नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी र अन्य सेवादायी निकायहरू उच्च मनोबलका साथ चौबीसै घण्टा नागरिकहरूको सुरक्षामा खटिएका छन्।”
उनका अनुसार उद्धार र राहतका लागि राज्यका सबै निकायहरू पूर्ण तयारीमा छन्। उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अत्यधिक सतर्कता अपनाउन र आधिकारिक सूचनालाई पालना गर्न आग्रह गरिन्।
“तपाईं डुबान वा पहिरोको जोखिमयुक्त क्षेत्रमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षालाई प्राथमिकता दिनुहोस्। कुनै पनि कार्य अघि जोखिमको आकलन गर्नुहोस् र सुरक्षालाई पहिलो बनाउनुहोस्,” प्रधानमन्त्री कार्कीले भनिन्।
प्रधानमन्त्रीले थपिन् —
“सरकारले सबै उपलब्ध स्रोत र साधन परिचालन गरी स्थानीय र राष्ट्रिय निकायहरूसँग मिलेर काम गरिरहेको छ। तपाईंहरूको सुरक्षा नै हाम्रो प्रमुख चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् — तपाईं यसमा एक्लो हुनुहुन्न।”
यससँगै सरकारले संभावित विपद् जोखिमको आकलन गर्दै असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको पनि उनले जानकारी दिइन्।