
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने निर्णय गरेकी छन् । हालै सम्पन्न जेन-जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेको पीडादायी घटनालाई स्मरण गर्दै उनले टीका नलगाउने निर्णय सार्वजनिक भएको हो।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ –
“बडादसैं प्रत्येक वर्ष उल्लासपूर्वक मनाइने चाड भए तापनि, हालैको युवापुस्ताको आन्दोलनमा धेरै युवाले प्राण गुमाउनु परेको पीडामा प्रधानमन्त्री सहभागी भएकी छन्। त्यसैले यस वर्ष टीका जमरा नलगाइनेछ।”
सचिवालयका अनुसार, प्रधानमन्त्रीले देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको स्पष्ट पारेकी छन्।
यसै सन्दर्भमा उनले दसैंको शुभकामना सन्देश दिँदै, सरकार तोकेअनुसारकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। साथै, युवाको अभूतपूर्व आन्दोलनकै जगमा बनेको सरकार भएकाले सुशासन कायम गर्ने र पारदर्शी शासनतर्फ अग्रसर हुने संकल्प व्यक्त गरेकी छन्।
उनले दुर्गा भवानीले शक्ति प्रदान गरी राष्ट्रलाई सुख, शान्ति, स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गरेकी छन्। दसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन योगदान पुर्याओस् भन्ने उनको आशा छ।