Join our Channel

गोरखा दरबारबाट हनुमानढोका भित्राइयो फुलपाती

दशैंको मुख्य दिन नजिकिँदै गर्दा गोरखा दरबारको दसैं घरबाट फुलपाती काठमाडौँ हनुमानढोका पठाइएको छ। आइतबार षष्ठीको दिन विधिपूर्वक निमन्त्रण पूजा गरी संकलन गरिएको फुलपाती परम्परागत बाजागाजा, डोलीसहितको लावालस्करसाथ पठाइएको हो।

गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईका अनुसार, गोरखा नगर क्षेत्रका पस्लाङ, रिप, अमराई लगायतका बनक्षेत्रबाट संकलित नवपत्र मध्ये केही गोरखा दरबारमै भित्राइने र केही हनुमानढोकामा पठाइने परम्परा रहेको छ।

इतिहासविद्हरूका अनुसार, पृथ्वीनारायण शाहले काठमाडौँ विजयपछि गोरखाबाट हनुमानढोका फुलपाती भित्राउने परम्परा सुरु गरेका हुन्। यसरी भित्राइने फुलपातीलाई पुर्ख्यौली कुलदेवतामा चढाइने मात्र नभई हनुमानढोकास्थित नवस्थापित देवतामा पनि अर्पण गरिन्छ।

गोरखाबाट पठाइने फुलपाती हनुमानढोका पुगेपछि मात्र दशैंको औपचारिक रौनक सुरु भएको मानिन्छ। अघिल्ला समय पैदलमार्ग हुँदै ल्याइने फुलपाती अहिले सडक सञ्जालको विस्तारसँगै सवारीमार्गबाट ल्याउने चलन स्थापित भएको छ।

Leave a comment