
तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको अभावले जनजीवन प्रभावित भएको छ। दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ अन्तर्गत वितरण हुँदै आएको धारामा पानी नआएपछि स्थानीयवासी ठूलो समस्यामा परेका छन्।
व्यास–२ र ३ का बासिन्दाले एक गाग्री पानीको लागि अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिरधारा जस्ता स्थानमा घण्टौं लाइन बस्नुपरेको छ। बिहानैदेखि पानी लिन लामबद्ध हुनुपर्ने अवस्था आएको व्यास नगरपालिका–३ देउरालीनगरका स्थानीय देव गजमेरले जानकारी दिए।
“मंगलबार साँझदेखि नै पानी आउन छाडेको हो,” उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि करिब १०० जना मानिस कुवा र धारामा लाइनमा थिए।”
पानी अभावको प्रमुख कारण मुग्लिन–पोखरा सडक विस्तार परियोजनासँग जोडिएको पाइपलाइन व्यवस्थापन हो। दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठका अनुसार, अस्थायी पाइप हटाएर स्थायी जिआइ पाइप जडान गरिँदै छ।
“हामी बिहानदेखि राति १० बजेसम्म निर्माणमा खटिएका छौं,” श्रेष्ठले भने, “पाइप जडान सकेपछि कङ्क्रिट गरिन्छ र त्यसपछि मात्र पानी सुचारु हुनेछ।”
स्थानीयवासीले चाँडै समस्या समाधान हुने अपेक्षा गरेका छन्, तर तत्कालका लागि उनीहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोगिरहेका छन्।