Join our Channel

पोङ्कर ताल जाने नयाँ पदमार्ग निर्माण हुँदै

पोङ्कर ताल जाने नयाँ पदमार्ग निर्माण हुँदै

नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने नयाँ पदमार्ग निर्माण हुने भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनाङ एकाइ संरक्षण कार्यालयले सागर सतहदेखि ४,६५१ मिटर उचाइमा रहेको तालसम्मको सर्वेक्षण गरी यो योजना अघि बढाएको हो।

पोङ्कर ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरिएको र सम्भावित मार्ग पहिचान गरी निर्माण गरिने प्रमुख रवीन कडरियाले जानकारी दिएका छन्।

पोङ्कर ताल अन्नपूर्ण तेस्रोको काखमा अवस्थित हिम नदीले बनेको ताल हो र मनाङको सबैभन्दा कम अन्वेषण गरिएको प्राकृतिक स्थलहरूमध्ये पर्छ। पूर्वमा प्रयोग हुने पुरानो पदमार्ग पहिरोले पूर्ण रूपमा क्षति भएपछि सुरक्षित र दिगो मार्ग पहिचान गर्न सर्वेक्षण गरिएको हो।

स्थानीय यार्सागुम्बा र वन लसुन सङ्कलनकर्ता तथा पर्यटकहरूले यस क्षेत्र भ्रमण गर्ने गर्दछन्। अन्वेषणात्मक सर्वेक्षण र नयाँ पदमार्गले स्थानीय समुदाय र आगन्तुकबीच संरक्षण जागरुकता बढाउने र दिगो पारिस्थितिकी पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सानो आकारको भए पनि पोङ्कर ताल वरिपरिको हिमाली दृश्य अत्यन्त मनमोहक छन्। नयाँ पदमार्ग विकाससँगै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन र स्थानीय अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a comment