
भारतका चर्चित युट्युबर भुवन बाम चाँडै बलिउडमा डेब्यू गर्न लागेका छन्। उनी धर्मा प्रोडक्सनको फिल्म ‘कुकु की कुण्डली’ मा मुख्य भूमिकामा देखिने भएका छन्।
भुवनले हालै धर्मा प्रोडक्सनसँग सम्झौता गरेपछि आफ्नो डेब्यूको घोषणा गरेका हुन्। उनले आफ्नो इन्स्टाग्राममा सम्झौताको तस्वीर साझेदारी गर्दै लेखेका छन्,
“सपना देख्नुहोस् साथीहरू, ती साकार हुन्छन्।”
उनको पोस्टमा सेलिब्रिटी र फ्यानहरूले बधाई दिइरहेका छन्।
फिल्म ‘कुकु की कुण्डली’ मा भुवनले वामिका गब्बीसँग अभिनय गर्नेछन्। यसलाई शरण शर्मा निर्देशन गर्दैछन्, जसले पहिले ‘मिस्टर एण्ड मिसेस माही’ र ‘गुञ्जन सक्सेना: द कारगिल गर्ल’ निर्देशन गरिसकेका छन्।
बलिउड डेब्यू अघि भुवनले जियो हटस्टारको ताजा खबर सिरिज मार्फत ओटीटी र अभिनय डेब्यू गरिसकेका छन्।
भुवन ‘कुकु की कुण्डली’ बाहेक अमेजन प्राइम भिडियोको सिरिज ‘द रिभोलुसनरी’ मा पनि देखिनेछन्, जुन २०२६ मा रिलिज हुने छ। यसमा रोहित सराफ, प्रतिभा रन्ता, जेसन शाह र गुरफतेह पिरजादा पनि मुख्य भूमिकामा छन्।
जनवरी २२, १९९४ मा जन्मेका भुवनले २०१५ मा युट्युब च्यानल सुरु गरेका थिए। टिटु मामा, बब्लु, बन्चोडदास, अद्रक बाबा, मिस्टर होला र पापा माकिचु जस्ता पात्रबाट उनी चर्चा बटुलेका थिए। प्रारम्भमा उनी सानो कोठामा मोबाइलबाट भिडियो रेकर्ड गर्थे।
युट्युबमा लोकप्रिय भएपछि उनले २०१६ मा म्युजिक भिडियो ‘तेरी मेरी कहानी’ ल्याए, जसमा उनले स्वर दिएका थिए। त्यसपछि ‘साङ हु तेरे’, ‘सफर’, ‘रहगुजार’, ‘बस मेँ’, ‘अजनबी’, ‘हीर राँझा’ जस्ता गीत बजारमा ल्याए।
उनको लोकप्रियताले उनलाई दिव्या दत्तासँग सर्ट फिल्म ‘प्लस माइनस’ मा काम गर्ने अवसर दिलायो र यसका लागि फिल्मफेयर पुरस्कार पनि प्राप्त भए।